नेपालको कृषिमा अर्गानिक उत्पादनले निकै 
चर्चा पाएको छ । धेरै किसान अर्गानिक कृषि प्रणालीमा अग्रसर भएका छन् तर 
स्वदेशमा अहिलेसम्म अर्गानिक (जैविक) उत्पादक प्रमाणित गर्ने सरकारी निकाय 
नहुँदा किसान र उद्योगीले सास्ती खेप्नुपरेको छ । विशेषगरी, पूर्वी पहाडी 
जिल्लामा अर्गानिक खेतीको लहर चलेकोे छ । चिया, तरकारी र फलफूल कृषक 
अर्गानिक खेतीको प्रक्रियामा छन् ।
तर, नेपालमै अर्गानिक प्रमाणित गरी 
निर्यातको वातावरण बनाउन नसक्दा किसान र उद्योगीले विदेशीकै भर पर्नुपरेको छ
 । यहाँका चिया किसान र उद्योगी महँगो रकम तिरेर विदेशी निकायबाट चियाको 
अर्गानिक प्रमाणीकरण गराउन बाध्य छन् । स्वदेशमै अर्गानिक प्रमाणीकरण निकाय
 स्थापना हुन नसक्दा यसको प्रत्यक्ष मार आफूहरूलाई परेको अर्गानिक उत्पादन 
सुरु गरेका इलामका किसान बताउँछन् ।
इलामका चिया किसानले केही वर्षयता चियामा 
रसायनिक मल र विषादी कम गर्दै अर्गानिक उत्पादनको प्रयास गरिरहेका छन् । 
रसायनिक मल र विषादी चियामा एकै पटक निषेध गर्दा उत्पादनमा ७० प्रतिशतसम्म 
कमी आउँछ । तर, बजारको सम्भावना राम्रो देखेपछि किसान अर्गानिकतर्फ आकर्षित
 छन् । विदेशबाटै अर्गानिक प्रमाणीकरण पाएका केही किसान, समूह र सहकारीले 
उत्पादन गरेको हरियो चिया प्रतिकिलो ५० देखि ५५ रुपैयाँका दरले बिक्रीसमेत 
भइरहेको छ । किसानले अर्गानिकको प्रयास गरिरहेको र रसायनिक मल विषादी हटाएर
 गड्यौले मल प्रयोग गरिरहेको कोल्बुङस्थित इको चिया सहकारी संस्थाका 
व्यवस्थापक गणेश अर्यालले बताए ।
उनले भने, ‘चिया कारखाना र उद्योगीमार्फत 
अर्गानिक प्रमाणीकरणमा किसान जानुपर्ने बाध्यता छ, नेपालमै प्रमाणीकरणको 
व्यवस्था भए चियाको मात्र नभएर अन्य तरकारी, फलफूलले पनि राम्रो मूल्य 
पाउँथ्यो ।’ ‘अहिले त उद्योगीले जतिमा चिया खरिद ग¥यो त्यतिमै किसानले 
चित्त बुझाउनुपर्छ,’ अर्यालले थपे, ‘अन्य फलफूल र तरकारीको मूल्य त विषादी 
प्रयोग गरेको र नगरेकामा केही फरक छैन ।’ सरकारले अर्गानिक प्रमाणीकरणको 
विषयमा ध्यान नदिँदा अर्गानिक प्रमाणीकरणका लागि करोडौं रुपैयाँ नेपालबाट 
बिदेसिने गरेको फिक्कलस्थित गोर्खा टी स्टेटका सञ्चालक उदय चापागाईं 
बताउँछन् ।
सिफारिससम्म गर्न सक्ने गरी स्थापना भएका 
निजी स्तरका निकायबारे पनि उद्यमी–किसान दुवै बेखबर छन् । जिल्लाको 
साखेजुङस्थित हिमालयन सांग्रिला टी प्रोड्युसर्स प्रालिले आफ्नो चिया 
अस्ट्रेलियास्थित नेसनल एसोसिएसन फर सस्टेनेबल एग्रिकल्चर (नासा) बाट 
अर्गानिक प्रमाणित गराएको छ । साखेजुङकै ग्रिनहिल चिया उत्पादक सहकारी, 
उच्चपहाडि, त्रियुगा, साना किसान समूह शान्तिडाँडा र तीनजुरे चिया उत्पादक 
सहकारी संस्था फाकफोकले यसअघि नै नासाबाट अर्गानिकको प्रमाणपत्र पाइसकेका 
छन् ।
केन्द्रीय चिया उत्पादक सहकारीका अध्यक्ष 
गोविन्द दाहालका अनुसार हिमालयनमा आबद्ध १ सय ४१ किसानको चिया बगान पनि 
अर्गानिक प्रमाणित भइसकेको छ । ग्रिनहिलका ६० किसानले अर्गानिक प्रमाणीकरण 
गराइसकेका छन् । २ सय ९९ किसान प्रक्रियामा छन् । पाँचथरको कञ्चनजंघा टी 
स्टेट र धनकुटाको गुराँसे टी स्टेटले पनि नासाबाटै अर्गानिक उत्पादनको 
प्रमाणपत्र लिएका छन् । विदेशीकै इच्छाअनुसारको रकम तिर्नुपर्ने हिमालयन 
सांग्रिलाका सञ्चालक कमल मैनाली बताउँछन् ।
विदेशीबाट प्रमाणित गराउन एकै पटकमा १०–१२
 लाख रुपैयाँसम्म तिर्नुपरेको मैनालीले बताए । फिक्कलको सुन्दरपानीस्थित 
गोर्खा टी स्टेटसहित यहाँ आबद्ध २ सय ७६ किसानले भने स्विट्जरल्यान्डस्थित 
इन्टरनेसनल मार्केटोलोजी अर्गनाइजेसन (आईओएम)बाट अर्गानिक उत्पादनको 
प्रमाणपत्र लिएका छन् । सुन्दरपानी चिया उत्पादक सहकारी, कोलबुङको इको चिया
 उत्पादक सहकारी, पशुपति नगरको बौद्धधाम चिया उत्पादक सहकारी तथा श्रीअन्तु
 चिया उत्पादक सहकारीमा आबद्ध किसानले अर्गानिकको प्रमाणपत्र लिइसकेका छन््
 ।
गोर्खा टीका सञ्चालक चापागाईंले करिब ३ सय
 किसान अर्गानिकको प्रक्रियामा रहेको जानकारी दिए । उनी भन्छन्, ‘नेपालमा 
नभएपछि विदेशको विकल्प छैन । यति धेरै खर्च गरेर पनि प्रमाणीकरणमा असफल भए 
यो रकम डुब्छ हामी चिन्तित छौं ।’ चिया उद्योगी र किसानले आफ्नै पहलमा 
विदेशी व्यापारीबाट अर्गानिक प्रमाणीकरण प्रक्रियामा जानुपर्ने बाध्यता 
बुझेका हुन् ।
सरकारले यसरी सोझै विदेशी निकायबाट 
अर्गानिक प्रमाणीकरण गर्नेलाई प्रमाणीकरणको खर्चमा सहायता गर्ने भए पनि 
यस्तो सहायता ज्यादै कम भएको उद्योगी चापागाईंले बताए । नेपालमा अर्गानिक 
प्रमाणीकरण गर्ने सरकारी निकाय नभए पनि निजी स्तरका अर्गानिक प्रमाणीकरण 
नेपाल (ओसिएन) र अर्गानिक उत्पादन प्रमाणीकरणका लागि सर्टिफिकेसन एलायन्स 
(सर्टअल) नामक क्षेत्रीय स्तरका निकाय छन् ।
तर, यी निकायले पनि अन्तर्राष्ट्रिय 
स्तरमा मान्यता प्राप्त उत्पादनको प्रमाणीकरण नगर्ने भएकाले नेपालमा 
अर्गानिक प्रमाणीकरण गर्ने निकाय नै शून्य रहेको खाद्य प्रविधि तथा गुण 
नियन्त्रण विभागकी महानिर्देशक जीवनप्रभा लामाले बताइन् । उनी भन्छिन्, 
‘निजी स्तरका केही यस्ता एकाइले पनि नासा र आईएमओजस्ता
अन्तर्राष्ट्रिय 
मान्यताप्राप्त निकायबाट प्रमाणीकरणको प्रमाणपत्र लिनुपर्छ । तर, त्यसो हुन
 नसकेकैले नेपालमा अर्गानिक प्रमाणीकरणको प्रमाणपत्र दिने कुनै निकाय छैन 
।’
महानिर्देशक लामाले भनिन्, ‘अहिले 
अन्तर्राष्ट्रिय मान्यताप्राप्त गुणस्तरको उत्पादन नै अभाव भएकाले सरकारले 
अर्गानिक प्रमाणीकरणको निकाय स्थापना नगरेको हो । यसका लागि धेरै झन्झटिलो र
 खर्चिलो प्रक्रिया हुन्छ ।’ उनले खेती गरेको बालीको आधिकारिक र प्रमाणित 
जानकारी नै नहुने भएकाले अर्गानिक प्रमाणित गर्न समस्या पर्ने गरेको बताइन्
 । यसका लागि सरकारी स्तरबाट बोर्ड नै गठन हुनुपर्ने र बोर्डले कदम चालेपछि
 मात्रै प्रमाणीकरण निकाय स्थापना गर्न सकिने लामाले बताइन् ।
अधिकांश किसानमा शैक्षिक तथा प्राविधिक 
ज्ञान–सीपको कमी भएकाले प्रमाणीकरण प्रक्रिया पूरा गर्न कठिनाइ भएको 
माईपोखरीस्थित जसवीरे चिया कारखानाका प्राविधिक शरद सुब्बाले बताए । उनी 
भन्छन्, ‘पहिला–पहिला भारतीयले बनाएको चिया तेस्रो मुलुकले रुचाउँथे । 
अहिले उनीहरूको भन्दा फरक र राम्रो तरिकाले चिया उत्पादन तथा प्रशोधन गरिने
 भएकाले विदेशीले पनि नेपाली किसानको उपजलाई अर्गानिक प्रमाणीकरण गराउन 
किसानलाई प्रेरित गरिरहेका छन् ।’
 

 
No comments:
Post a Comment